प्रदेश खेलकुद प्रतियोगिता : महिला क्रिकेटमा काठमाडौं विजयी
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तरगत मंगलबार चिवतनमा भएको महिला क्रिकेटतर्फ काठमाडौं विजयी भएको छ ।
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रथम भएको हो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले एक विकेट गुमाएर २० ओभरमा १६२ रन बनाएको थियो । काठमाडौंको तर्फबाट कन्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३ रन बनाएका थिए ।
चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएका थियो । भरतपुर महानगरपालिकाका मेयर रेणुकुमारी दाहाल, परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले विजेता र उप विजेतालाई प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका थिए ।
पुरुष तर्फको खेल भने आज (बुधबार) हुनेछ । पहिलो खेल रामेछाप र नुवाकोट र दोस्रो खेल रसुवा र धादिङबीच हुने खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए । पुरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।
प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताए ।
प्रतियोगिताको लागि ८ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
