नवोदयमा ‘म्याथ क्याम्प फायर’
मकवानपुर । नवोदय म्याथ क्लवले आइतबार अन्तरराष्ट्रिय पाइ डे (मार्च १४) का दिन ‘म्याथ क्याम्प फायर’ कार्यक्रम आयोजना गरेको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदन अंग्रेजी माद्यमिक विद्यालयमा रहेको म्याथ क्लवले अन्तरराष्ट्रिय पाइ डे मार्च १४ र असार १४ गते म्याथ क्याम्प फाइर कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि म्याथ काउन्सिल मकवानपुरका सह–सचिव इन्द्रबहादुर कार्कीले गणित विषय घर, समाज र विद्यालयमा बढी उपयोग हुने भएकाले अरु विषयको तुलनामा महत्वपूर्ण रहेको बताए । ‘गणित विषय प्रयोगात्मक भएको बताउँदै उनले पढ्नमा कठिन भए पनि अभ्यासलाई निरन्तरता दिँदा यो विषय सहज रहेको बताए । गणित विषयप्रति विद्यार्थीको झुकाव बढी रहेकोमा उनले खुशी व्यक्त गरे ।

त्यसैगरी नवोदय विद्यालयका निर्देशक दीपेश जोशीले म्याथ क्याम्पफाइर कार्यक्रमले गणित विषय पढ्नमा सहयोग मिलेको बताए । उनले नवोदय म्याथ क्याम्पफायर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरे । व्यक्तिगत जीवनमा गणित विषयले कसरी असर पु¥याइरहेको छ भन्ने विषयलाई लिएर क्याम्पफायरमा विद्यार्थीहरुले जानकारी गराउने छन् । विद्यालयको प्राङ्गणमा स्टल निर्माण गरी विद्यार्थीहरुले टुकी बत्ती, टपरी, रङ्गोली, पानीघट्ट, राष्ट्रिय झण्डा, नाङ्लो, मुडा, मानापाथी, मादल, कोदालो, खुकुरी, हवनकुण्ड, घर, करुवा, गुन्द्री, ग्रामोफोन निर्माण गर्दा गणित विषयको प्रयोगको बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्धत मिल्ने विद्यार्थी लिजा विष्टले बताइन् । म्याथ क्याम्फायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले यो कार्यक्रम बढी प्रभावकारी हुने उनले बताइन् । गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्पफायर कार्यक्रम यस अघि भर्चुअल माध्यमबाट भएको थियो ।
