मकवानपुरको भीमफेदीमा देखियो बर्डफ्लु

तु खबर संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार १४:१४
file photo

मकवानपुर । मकवानपुरमा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पतालले जनाएको छ । विज्ञ केन्द्रका अनुसार जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २, आँपचौर स्थित एक कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो । त्यस क्षेत्रमा कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गरीहेर्दा बर्डफ्लु एच फाइब एन वान नामक भाइरस संक्रमण भएको पुष्टि भएको हो ।

मकवानपुर जिल्लामा २०६९ र २०७५ सालमा बर्डफ्लु देखिएको थियो । जिल्लामा करिब १ हजार ३ सय कुखुरा पालक किसान रहेका छन् । पछिल्लो समय देशको विभिन्न स्थानमा बर्डफ्लु देखिइरहेको छ । कुखुरा पालक किसानको लागि महामारीको रुपमा लिइएको बर्डफ्लु रोगलाई समयमा नै रोकथाम गर्न नसके यसले ठूलो क्षति पुर्याउने जानकारहरु बताउँछन् ।