संखुवासभा बस दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा आज (बिहीबार) बिहान भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मादी नगरपालिका–५ कि ३० वर्षकी युका पोखरेलको उपचारको क्रममा मृत्यु भएको हो ।
पोखरेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यससँगै मृतकको संख्या १५ पुगेको हो । दुर्घटनामा परेर १४ जनाको भने घटनास्थलमै मृत्यु भएको हो ।
बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्वरको बस दुर्घटना सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर घाइते भएका मादी नगरपालिका–५ बस्ने ३० वर्षीय सुवास गोले, मादी–६ की २२ वर्षीय तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्कीको धरानमा उपचार भइरहेको छ । उनीहरुलाई घटनास्थलबाट नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो ।
