संखुवासभा बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत (नामावलीसहित)

तु खबर संवाददाता
२०७८ फाल्गुन २६, बिहीबार १५:२७

संखुवासभा । संखुवासभाको मादी नगरपालिका– ६ स्थित सातघुम्ती नजिकै आज (बिहीबार) बिहान भएको बस दुर्घटनामा परेर मृत्यु भएका सबै जनाको सनाखत भएको छ । बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्वरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मृत्यु हुनेहरुमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको ५ वर्षीया छोरी दिक्षा कटुवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेको संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उक्त दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । प्रहरीका अनुसार, बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।