वर्षमा एक पटक मृगौला परीक्षण गर्न स्वास्थ्य मन्त्री लामाको आग्रह
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वर्षमा एक पटक मृगौला परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । विश्व मृगौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षमा एक पटक मृगौला परीक्षण गर्न आग्रह गरेका हुन् ।
उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मृगौला रोगको पहिचानको लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममार्फत मृगौला परीक्षण गर्ने गरेको जनाउँदै रोगको बेलैमा पहिचान भएमा निधानमा समेत सहज हुने भएकोले वर्षमा एक पटक मृगौला परीक्षण गर्न र रोग लागेमा बेलैमा उपचार गर्न सबैमा अनुरोध गरेका छन् । उनले मृगौलाको स्वास्थ्यबारे सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
नेपालमा हरेक वर्ष ३ हजार ५ सय जनाको मृगौलामा समस्या आउने गरेको पाइएको छ । क्रोनिक मृगौला रोग सामन्यतया घातक हुने जनाइएको छ । प्रारम्भिक अवस्थामा यस रोग लाग्नबाट बचाउन साधारणतया हुने व्यवस्थापनबाट बिरामीलाई निको पार्न सकिने र घातक हुनबाट बचाउन सकिने जनाइएको छ ।
खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मृगौला रोगी बढिरहेका छन् । मृगौलाको समस्याबाट जोगिन प्रशस्त पानी पिउन, हिडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाइ अनुसारको वजन व्यवस्थापन गर्न चिकित्सकको सुझाव छ ।
नेपाली समाजमा मृगौला रोगको आधारभूत तथा उपयुक्त सूचना नलिने गरेको, मृगौला स्वास्थ्य शिक्षा र जनचेतना नहुनु तथा मृगौला स्वास्थ्य शिक्षा हासिल गर्न तत्परता नरहेको अवस्थामा छ । यही कारणले मृगौला रोग बढ्दो अवस्था रहेको र घातक समेत हुने गरेको स्वास्थ्य सन्देशमा उल्लेख छ । “सबैका लागि मृगौला स्वास्थ्य” भन्ने नाराका साथ बिहिबार विश्व मृगौला दिवस मनाईदैछ ।
