हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर
मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज (मंगलबार) दिउँसो हेटौंडाबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना २९ प ९१२५ नम्वरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १५४६ नम्वरको बोलेरो गाडीले ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेहरुमा स्कुटर चालक ४५ वर्षीया प्रतिमा शाक्य र स्कुटरमा सवार ३८ वर्षीया यशोधा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार, घाइतेमध्ये स्कुटरमा सवार पौडेलको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको छ । यस्तै, अर्का घाइते शाक्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।
