हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीबाट २ जना आकाँक्षी
मकवानपुर । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । नेताहरु टिकटको लागि जिल्ला र केन्द्रसम्मै लभिङ गरिरहेका छन् ।
बागमती प्रदेशको राजधानीसमेत रहेको र जिल्लाको सबैभन्दा बढी मतदाता रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर बन्न अहिले विभिन्न राजनीतिक दलभित्र रस्साकस्सी नै सुरु भइसकेको छ । एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टीबाट भने हेटौंडाको मेयरमा श्रीधर पोखरेल र मिना लामाले आकाँक्षा व्यक्त गरेको कार्यकर्ताहरु बताउँछन् ।
एकीकृत समाजवादी मकवानपुरका अध्यक्षसमेत रहेका पोखरेल र हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा मेयरको लागि आकाँक्षी देखिएका हुन् । स्रोतका अनुसार लामा एक पटक उपमेयर भइसकेकोले अब मेयरको जिम्मेवारी पाउनुपर्ने दावी गरिरहेकी छिन् भने पोखरेल स्थानीय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै मेयर दावी गर्ने पक्षमा छन् ।
‘मकवानपुरमा स्थानीय चुनावमा गठबन्धन हुने लगभग पक्का देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धन कायम रहँदा हाम्रो पार्टीले हेटौंडाको मेयर पाउने अवस्था भएमा मात्रै श्रीधरजीले आफु उम्मेदवार हुन्छु भन्नुभएको छ । हाम्रो पार्टीले उपमेयर पाएमा मिनाजीलाई नै पठाउने तयारी छ । एकीकृत समाजवादीले मेयर पाउँदा मात्रै श्रीधरजीको दावी हो ।’ स्रोतले भन्यो ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी मेयर तथा उपमेयर पदमा चुनावी गठबन्धन गरको थियो । गठबन्धन अनुसार मेयर पदमा कांग्रेसबाट आनन्दराम पराजुली र उपमेयर पदमा माओवादीका बलराम बल उम्मेदवार थिए । त्यस्तै एमालेबाट हरिबहादुर महत र मिना लामा उपमेयरको उम्मेदवार थिए । एमालेले गठबन्धनका उम्मेदवारलाई पराजित गरी दुवै पद सुरक्षित गरेको थियो । हाल एमाले विभाजित भएर एकीकृत समाजवादी पार्टी गठन भएको छ । उपमेयर लामा अहिले समाजवादीमा छिन् । गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका बलराम बल एमालेमा प्रवेश गरेका छन् ।
