प्रदेश खेलकुद प्रतियोगिता मकवानपुरसहित पाँच जिल्लामा संचालन हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन २१, शनिबार ०९:०२

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा हुने प्रथम प्रदेश खेलकुद प्रतियोगिता प्रदेशको ५ वटा जिल्लामा संचालन हुने भएको छ । परिषद्ले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिता मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काठमाडौं र काभ्रेपलाञ्चोकमा संचालन हुने जानकारी गराएको हो ।

परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार, प्रदेश खेलकुद प्रतियोगितामा पुरुष फुलबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ खेल हुनेछ । जसमा मकवानपुरमा पुरुष फुटबल, तेक्वान्दो र ब्याडमिन्टन खेलहरु संचालन गरिनेछ ।

यसैगरी, चितवनमा भलिबल र क्रिकेट, काभ्रेपलाञ्चोकमा महिला फुटबल र बक्सिङ, सिन्धुपाल्चोकमा कराते र काठमाडौंमा एथलेटिकस् खेल संचालन हुनेछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशको राजधानी हेटौंडामा गरिने र समापन काभ्रेपलाञ्चोकको धुलिखेलमा गरिने सदस्य सचिव भण्डारीले जानकारी दिए ।

प्रतियोगिता यही फागुन २८ गतेदेखि सुरु भएर चैत्र १२ गतेसम्म (१५ दिन) संचालन हुनेछ । उक्त प्रतियोगिताको उद्घाटन हेटौंडा–५ स्थित जनस्तरबाट निर्माण भइरहेको क्याम्पाचौरमा हुने सचिव भण्डारीले बताए ।

उनका अनुसार, उद्घाटन कार्यक्रमलाई भव्य बनाउन आर्मी तथा प्रहरीको व्याण्डसहितको प्रस्तुती, ३ सय भन्दा बढी विद्यार्थीको ड्रिल प्रर्दशन, आतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न भाँकी तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । प्रतियोगिता संचालन गर्न पाँच÷पाँच सदस्यीय विभिन्न ६ वटा उपसमिति र तीन÷तीन सदस्यीय ८ वटा प्राविधिक समिति निर्माण कार्य भइरहेको छ ।

प्रतियोगिताको उद्घाटन अर्थात पहिलो दिन कुनै खेल संचालन हुने छैन । यस्तै, दोस्रो दिनबाट प्रतियोगिता अन्तर्गतका खेलहरु सुरु हुनेछ । दोस्रो दिन फागुन २९ गतेदेखि पुरुष फुटबल र व्याडमिन्टन संचालन गर्ने, तेस्रो दिन फागुन ३० गतेबाट भलिबल र क्रिकेट प्रतियोगिता संचालन गर्ने, चैत्र ६ गतेबाट एथलेटिक्स, चैत्र ७ गते महिला फुटबल र कराते, चैत्र ९ गते बक्सिङ खेल संचालन गर्ने जनाइएको छ ।

प्रतियोगितामा प्रदेशका १३ जिल्लाका २ हजार १८८ जना खेलाडीहरु सहभागिता जनाउने छन् । जसमा महिला ९ सय ३९ जना र पुरुष १ हजार २४९ जना खेलाडीहरु रहेका छन् । प्रतियोगिता संचालनको लागि ४ सय ५७ जना अफिसियल र निर्णायक खटिने जनाइएको छ ।प्रदेशको लगानी पहिलो पटक हुने प्रतियोगितामा ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको छ । स्पोट्र्स किट, यातायात खर्च, दैनिक भता रु दुई हजार खेलाडीहरुलाई उपलब्ध गराइने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक हासिल गर्ने खेलाडीहरुलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।