दुर्घटनामा परेर ३ जनाको मृत्यु, २ जना घाइते
काठमाडौं । विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । ललितपुर, रुपन्देही र बाग्लुङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित नमस्ते पेट्रोल पम्प अगाडि सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रौतहट चपुर घर भएकी ६ वर्षीया अनुस्का जैसवालको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरास्थित सडकमा लु.२ ख ४३२६ नम्बरको टिपरले साइकललाई बिहीबार साँझ ठक्कर दिँदा साइकलमा सवार सोही नगरपालिका–७ देउपार बस्ने २६ वर्षीया दिल कुमारी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको साझा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै साइकल चालक दिल कुमारीका पति २७ वर्षीय बद्री चौधरी र उनीहरूकी छोरी ४ वर्षीया जेनिसा चौधरी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, बाग्लुङको गल्कोट नगरपालिका–६ दर्मुस्थित सडकमा ग २ त २९७८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–५ हरीचौर बस्ने दाङ घर भएका ४५ वर्षीय जगदिश चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
