आज ग्याल्पो ल्होछार, देशभर सार्वजनिक विदा

तु खबर संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार ०८:४६

काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप संचालन हुन्छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।

ग्याल्पो ल्होछारका अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिइएको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी गत फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ल्होछारको अवसरमा बिहीबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो । सरकारले सबैखाले ल्होसारमा विदा दिँदै आएको छ । सरकारले यसअघि सोनाम ल्होछार र तमु ल्होछारको अवसरमा पनि सार्वजनिक विदा दिएको थियो ।