राक्सिराङ्ग गाउँपालिकाद्वारा छात्रवृत्ति कार्यविधि जारी, प्राविधिक शिक्षालाई प्राथमिकता

तु खबर संवाददाता
२०७८ माघ २९, शनिबार ०७:४५

मकवानपुरको राक्सिराङ गाउँपालिकाले लामो समयको प्रतिक्षापछि छात्रवृत्ति तथा प्रोत्साहन अनुदान वितरण कार्यविधि जारी गरेको छ । पालिकाभित्रका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति तथा प्रोत्साहन अनुदान वितरण कार्यविधि, कार्यान्वयनमा ल्याएको राक्सिराङ गाउँपालिकाले जानकारी दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) बमोजिम कार्यबिधि बनाइएको पालिकाको भनाइ छ । यस अघि गाउँपालिकाले छात्रवृद्धि सम्बन्धी कार्यविधि नबनाउँदा अल्पसंख्यक, दलित, जनजाति, महिला तथा आर्थिक रुपमा बिपन्न व्यक्तिले छात्रवृत्ति पाउन नसकेका समाचारहरु सार्वजनिक भएका थिए ।

पालिकाले सार्वजनिक गरेको कार्यविधि अनुसार, अब गाउँपालिका मुख्यगरी ५ वटा क्षेत्रहरुमा छात्रवृत्ति प्रदान गर्नेछ । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत दलित विद्यार्थी तथा कक्षा ११–१२ मा प्राविधिक विषय पढ्नेहरूलाई अनुदान दलित उच्च शिक्षा छात्रवृत्ति दिइनेछ । त्यस्तै २० वर्ष पूरा भई विवाह गरेका र उच्च शिक्षा (स्नातक वा स्नातकोत्तर वा प्राविधिक शिक्षा अध्ययन गरिरहेका बुहारीहरुलाई बुहारी छात्रवृत्तिबाट प्रात्साहन गरिनेछ । त्यसैगरी, बाबुआमा नभएका वा आर्थिक रुपमा अत्यन्त कमजोर विद्यार्थीहरुलाई विद्यालयस्तरमै सहयोग गर्न असहाय तथा विपन्न छात्रवृत्ति कार्यक्रम लागु हुनेछ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, कक्षा ९ देखि १२ सम्म अध्ययनरत चेपाङ छात्राहरुलाई बालविवाह न्युनिकरण र विद्यालय छाड्ने दर घटाउन प्रति महिना ५०० रुपैयाका दरले ६००० प्रोत्साहन भत्ता दिइने कार्यविधिमा व्यवस्था गरिएको छ । शिक्षामा सिमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न, विद्यालय छाड्ने दरमा कमी ल्याउन, गाउँपालिकाको समस्याको रुपमा रहेको वालविवाहको दरमा समते कमी ल्याउन चेपाङ छात्रा विद्यालय प्रोत्साहन कार्यक्रम ल्याइएको हो ।

त्यस्तै डाक्टरी पढ्ने विद्यार्थीका लागि विशेष सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको छ । त्यसरी डक्टरी गरेकाहरुले अध्ययनपछि पालिकाले तोकेको क्षेत्रमा सेवा गर्नुपर्ने सर्त राखिएको अध्यक्ष मल्लले बताए ।

कार्यविधिमा वार्षिक रुपमा अधिकतम कति छात्रवृत्ति दिने भन्ने पनि निर्धारण गरिएको छ । कार्यविधि अनुसार, स्नातकरस्नातकोत्तर तह १६,००० रुपैयाँ, कक्षा ११–१२ वा ३ वर्षे प्राविधिक डिप्लोमा १२,००० रुपैयाँ, १८ महिने प्राविधिक तालिम ८,००० रुपैयाँ दिने गरी व्यवस्था गरिएको छ ।

आफ्नो वडा र शिक्षण संस्थाबाट छात्रवृत्तिको लागि सिफारिससहित गाउँपालिकामा आवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । सो आवेदनपछि विद्यार्थी छनोट गर्दा एकल महिलाका सन्तान, अपाङ्गता भएका परिवार, विपन्न र दलितलाई प्राथमिकताको आधारमा १०० पूर्णाङ्क मानी अङ्क प्रदान गरिने व्यवस्था कार्यविधिमा छ ।

विद्यार्थीको पठनपाठन गर्न पाउने हकलाई सुनिश्चित गर्न, शिक्षामा पहुँच तथा समता सुनिश्चित गर्न, पालिकाभित्रका वालबालिकालाई शिक्षामा समान अवसर उपलब्ध गराउन, समावेशी शिक्षा सुनिश्चित गर्न, प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न, गाउँपालिकाले वितरण गर्ने विभिन्न अनुदान तथा छात्रवृत्तिलाई न्यायोचित रुपले वितरणमा सहयोग पुर्याउन कार्यविधि जारी गरिएको गाउँपालिकाले जनाएको छ ।