दुर्घटनामा परेर अधिकारीको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १६:३०

कपिलवस्तु । कपिलवस्तुमा आज (आइतबार) सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका–१ बुङ्ची चोकस्थित सडकमा बा.३ ख ९८३० नम्बरको ट्रकले लु.३२ प ४८३२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–१ बस्ने २८ वर्षीय माधव अधिकारी रहेका छन् । उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक ४८ वर्षीय धर्मराज अधिकारी घाइते भएका छन् । घाइते उनको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भइरहेको जनाइएको छ । प्रहरीका अनुसार, मृतक र घाइते बाबुछोरा हुन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।