माधव नेपालले सीपीसीलाई भने – नेपाली भूमिमा कसैलाई चीनविरोधी गतिविधि गर्न दिन्नौँ

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १८:४१
file-photo

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले विहिबार चिनियाँ कम्युनिष्ट पार्टीका सीपीसीको अन्तरराष्ट्रिय सक्पर्क विभागका उप प्रमुख चेङ झाउसँग नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका छन् । नेता नेपालले भिडियो वार्ता गर्दै नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका हुन् ।

उनले नेपालले दृढतापूर्वक ‘एक चीन नीति’ अख्तियार गर्दै आएको पनि बताएका थिए । नेपाल–चीन मित्रता प्रबर्द्धनका लागि सीपीसीसँग मिलेर सहकार्य एवं संवाद गर्न समेत नेपाल आतुर रहेको उनको भनाइ थियो । यता, भिडियो कुराकानीमा झाओले दुबै मुलुक र दलबीचको सम्बन्धको प्रशंसा गरेका थिए । चीनले द्धिपक्षीय सम्बन्धको स्वस्थ एवं स्थिर विकासलाई अघि बढाउँदै नेपाली जनतालाई स्वतन्त्र भएर आफ्नो विकासको मार्ग रोज्न सधैं सघाउने पनि उनको भनाइ थियो ।