दामनमा भारी हिमपात, तापक्रम माइनसमा

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार ०९:३०
file-photo

मकवानपुर । आइतबार बेलुकादेखि मकवानपुरमा पुनः चिसो बढेको छ । जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामन, सिम्भञ्ज्याङलगायतका क्षेत्रमा हिमपात भएपछि सो क्षेत्रको तापक्रम माइनसमा पुगेको हो । चिसो बढेपछि त्यहाँको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । जिल्लाको सदरमुकाम हेटौंडासहित मनहरी, भीमफेदी, बकैया, इन्द्रसरोवर लगायतका क्षेत्रहरुमा पनि आइतबार बेलुकादेखि पानी परेपछि चिसो बढेको छ ।

सोमबार विहान दामनको तापक्रम माइनस २ डिग्री थियो भने यो समाचार तयार पर्दासम्म तापक्रम बढेर १ डिग्री पुगेको छ । अहिले मौसममा केही सुधार भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । हिमपात भएसँगै दामनमा आन्तरिक पर्यटकहरुको आवागमन बढेको छ । छिमेकी जिल्लाहरु चितवन, बारा, पर्सा, रौतहटलगायत बाट पर्यटकहरु दामनतर्फ प्रस्थान गर्ने क्रम बढेको छ ।  हेटौंडा–दामन जोड्ने त्रिभुवन राजपथ राती अवरुद्ध भएको भएपनि अहिले संचालनमा आएको प्रहरीले जनाएको छ ।