विदेशी पर्यटकको लागि खुल्यो अष्ट्रेलिया

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार ०८:५९

काठमाडौँ । कोरोना महामारीका कारण झण्डै २ बर्षदेखि विदेशी पर्यटकहरुलाई प्रवेशमा रोक लगाएको अष्ट्रेलियाले सोमबारबाट प्रवेशको अनुमति दिएको छ । तर, पर्यटकले कोरोना विरुद्ध खोपको पूर्ण मात्रा लगाएको भने हुनुपर्ने छ । वेष्टर्न अष्ट्रेलियाबाहेकका अष्ट्रेलियाका अन्य सबै राज्य र भू–भागमा विदेशी पर्यटकहरु जान पाउनेछन् । तर वेष्टर्न अष्ट्रेलिया भने मार्च ३ देखिमात्र खुल्ने जनाइएको छ ।

सन् २०२० को मार्च २० देखि अष्ट्रेलियाले महामारीका कारण सिमानाका बन्द गरेको हो । सिमानाका खुलेपनि अष्ट्रेलिया प्रवेशका लागि स्वीकृति प्राप्त कोरोनाविरुद्धको भ्याक्सिनको २ डोज लगाउनुपर्नेछ । बुस्टर डोज भने अनिवार्य गराइएको छैन । भ्याक्सिन नलगाएकाहरु भने अष्ट्रेलिया जानु परेमा ७ देखि १४ दिनसम्म होटल क्वारेन्टीमा बस्नुपर्ने जनाइएको छ ।

यात्रुहरुले २४ घण्टाभित्रको पीसीआर वा एन्टीजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । अष्ट्रेलियामा सन् २०१९ मा ९५ लाख पर्यटकहरुले भ्रमण गरेका थिए । तर कोरोनाको महामारीका कारण त्यहाँको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट ४५ विलियन अष्ट्रेलियन डलरको योगदान भएको थियो ।

अष्ट्रेलिया अहिले कोरोनाविरुद्धको भ्याक्सिन सबैभन्दा धेरै लगाउने विश्वका देशहरुमा पर्छ । १६ बर्षमाथिका ९४ प्रतिशतले पूर्णरुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन् । सन् २०२० र २०२१ मा अष्ट्रेलियाले कोरोनाविरुद्ध अपनाएको नीतिका कारण अष्ट्रेलियनहरुलाई समेत अष्ट्रेलिया छाड्न र फर्कन रोकिएको थियो ।