प्रदेश प्रमुख शर्माद्वारा प्रजातन्त्र दिवसको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा समस्त नेपालीहरुलाई बधाई तथा शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माद्वारा जारी गरिएको शुभकामना सन्देशमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ । उनले यस अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।
उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भएको उल्लेख गरेका छन् । प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिवद्ध प्रजातन्त्रका सेनानीहरुप्रति पनि सम्मान प्रकट गरेका छन् ।
‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २००७ साल फागुन ७ गतेका दिन १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा शासनको अन्त्य भई मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता प्राप्त भएको ऐतिहासिक दिनका रुपमा हामी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गर्दछौं । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विगतका ऐतिहासिक आन्दोलन, संघर्ष,त्याग तथा बलिदानको विशीष्ट भूमिका रहेको छ । यही सेरोफेरोमा र तिनै संघर्षको बलमा अहिले देशमा संघीयता,गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता सहितको संविधान कृयाशील छ । यसर्थ, हामीले आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबबोध गर्ने दिनका रुपमा सम्झिनु पर्दछु । ’ सन्देशमा उल्लेख गरिएको छ ।
उनले प्रजातन्त्र दिवसले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा सम्मृद्धि हासिल गर्न प्रेरणा मिलोस् भन्दै कामना समेत गरेका छन् ।

