चरिकोट अस्पताललाई पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गरिने

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १७:३५

मकवानपुर । बागमती प्रदेश सरकारको विहिबार बसेको बैठकले दोलखा जिल्लाको सदरमुकाम चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको थियो । उनको स्मृतिमा अस्पतालको नाम परिवर्तन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

बैठकले स्वास्थ्य सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य बिमा समिति गठन गर्ने पनि निर्णय गरेको छ । आजको बैठकले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई बर्खास्त गर्नेसमेत निर्णय गरेको हो । प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै उनलाई बर्खास्त गरिएको हो ।

बैठकले प्रदेशको विभिन्न जिल्लामा निर्माण गरिएको शीत भण्डार सञ्चालन सम्बन्धि कार्यविधि पास गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरेर निर्माण गरेको ९ वटा शीत भण्डार अब छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।

बैठकले प्रदेश यातयात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगतचन्द्र ढुंगानाले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागी हुनका लागि दिएको निवेदनमा सिफारिस गरी संघीय सरकारमा निर्णय गर्न पठाउनेसमेत निर्णय गरेको छ ।