माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच छलफल
मकवानपुर । सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एमसीसीबारे छुट्टै छलफल गरेका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।
अमेरिकी सहयोग परियोजना एमसीसी र सत्तारुढ गठबन्धनको भविष्यबारे बैठकमा कुराकानी भएको स्रोतले बताएको छ । बुधबार सरकारले एमसीसी सम्झौता संसद बैठकमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनभित्रको विवादका कारण पेश हुन सकेन ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जसरी पनि एमसीसी सम्झौता संसदमा टेबल गर्नुपर्ने पक्षमा छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी सम्झौता यथास्थितिमा संसदमा टेबल गर्न पनि नदिने पक्षमा छन् । तर जसपा भने विभाजित छ । एमसीसीबारे अन्तिम धारणा बनाउन आजै गठबन्धनको बैठक बस्दै छ । गठबन्धनको बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक पनि बसेको थियो ।
