बागमती प्रदेश सरकार किसानको पक्षमा छ : मन्त्री हुमागाईँ

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १५:४५

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईँले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको बताएका छन् । मन्त्री हुमागाईँले विन्दाबासिनी मिडिया प्रालिद्वारा संचालित रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

उनले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको भन्दै कृषिलाई व्यवस्थित गर्दै कृषकको विकासको लागि परेको बताए । मन्त्री हुमागाईँले पहुँचको आधारमा सरकारले अनुदान नदिने भन्दै प्रदेश सरकारले वास्तविक किसानसम्म अनुदान पुर्याउने समेत बताए । उनले सहज ढंगले किसानले अनुदान, सहुलियतपुर्ण ऋण पाउने व्यवस्था मिलाउने भन्दै किसानको हक अधिकारको लागि आफू सदैव तत्पर रहेको बताए । यस्तै, कार्यक्रममा रेडियो थाहासञ्चारको प्रवन्धक अरुणराज सुमार्गीले किसान बलियो भए मात्रै देशको अर्थतन्त्र बलियो हुने बताए र उनले कृषि क्षेत्रको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

मनकामना दुग्ध उत्पादक सहकारी संस्था प्रालिका अध्यक्ष अर्जुन दाहालको सभाध्यक्षातामा भएको कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष नारायण देवकोटा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी, गढी गांउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे, श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल , वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ केन्द्रीय अध्यक्ष रोमलाल गिरी र केन्द्रीय उपाध्यक्ष तथा सय किसान अभियानको अभियान्ता राजेन्द्र खनाल लगायतले मन्तव्य व्यत्त गरेका थिए ।

यस्तै, रेडियोले साताव्यापी कार्यक्रम अन्तरगत भोलि पाँचौ दिन ‘सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कस्को’ भन्ने विषयमा मावि स्तरीय वक्तृत्वकला कार्यक्रम, छैठौं दिन कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम र सातौं अर्थात अन्तिम दिन थाहा सम्मान तथा वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलनको आयोजना गर्ने भएको छ । रेडियोले यसअघि आइतबार पहिलो दिन पर्यावरण प्रर्वद्धनको लागि साइकल र्याली, दोस्रो दिन सोमबार रेडियोले बृहत रक्तदान कार्यक्रम र तेस्रो दिन रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।