दुर्घटनामा परेर थारु र कार्कीको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार ०९:५८
सांकेतिक तस्वीर

काठमाडौं । ललितपुर र भक्तपुरमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ललितपुरको बागडोल र भक्तपुरको च्यामासिंहमा सोमबार राति भएको सवारी दुर्घटनामा परेर एक/एक जनाको मृत्यु भएको हो ।

ललितपुरको बागडोलमा प्रदेश २–०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किंदा मोटरसाइकल चालक बाँकेका ३० वर्षीय गणेश कुमार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार कैलालीका ३० वर्षीय इन्द्र भण्डारी घाइते भएका छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यस्तै, सोमबार नै भक्तपुरको कमलविनायक च्यामासिंहमा बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल आपसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्की रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परेर मोटरसाइकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवार घाइते भएका छन् । उनकोे सोही अस्पतालमा उपचार भइरहेको छ ।