मकवानपुरमा १७ जना कुष्ठ रोगीका बिरामी थपिए

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार १६:२९

मकवानपुर । मकवानपुरमा ६ महिनाको अवधिमा १७ जना कुष्ठ रोगीका बिरामी थपिएका छन् । स्वास्थ्य निर्देशनाल हेटौंडामा क्षयकुष्ठ अधिकृत जितेन्द्र कर्णका अनुसार, जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १७ जना कुष्ठ रोगीका बिरामी थपिएका हुन् । जसमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिमा छन् । हेटौंडामा ७ जना कुष्ठरोगी रहेका छन् । यसैगरी, मनहरी र बकैया गाउँपालिकामा तीन/तीन जना, कैलाश गाउँपालिकामा २ जना, बागमती र भीमफेदी गाउँपालिकामा एक/एक जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका कुष्ठरोग फोकल पर्सन ठाकुर पौडेलका अनुसार मकवानपुर जिल्ला कुष्ठरोग निवारणको अवस्थामा रहेको छ । हालको तथ्यांक अनुसार जिल्लामा प्रकोप दर ०.३७ रहेको छ । गत आवमा जिल्लामा १९ जना कुष्ठरोगी रहेका थिए ।