एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावनाबारे अन्तरक्रिया गर्ने

तु खबर संवाददाता
२०७८ माघ २६,बुधबार ०९:२६

सौल, दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया (एनआरएनए कोरिया) ले नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा नेपालमा लगानीको अवस्था र सम्भावनाबारे अन्तरक्रिया गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीसमेतको आतिथ्यतामा ‘श्रमको सम्मान, श्रमिकलाई वित्तिय ज्ञान ’ भन्ने मुल नाराका साथ अन्तरक्रिया आउँदो शनिवार कोरियन समय बेलुकी ८ बजे (फ्रेबुअरी १२, २०२२ ) का दिन आयोजना गर्न लागिएको जनाइएको छ ।

अन्तरक्रियाले विशेष रुपमा दक्षिण कोरियामा श्रम, ब्यापार, अध्ययन एवम् विभिन्न सिलसिलामा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरु लाभान्वित हुनसक्ने बताउँदै गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दिपक पुन मगरले कोरियामा रहेका सम्पूर्ण नेपालीलाई अन्तरक्रियामा सहभागी हुन अनुरोध गरेका
छन् ।

एनआरएनएले नेपाल सरकारको ‘आर्थिक बर्ष २०७८÷७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाको बुँदा न. ६८ मा भएको गैर आवासीय नेपालीहरु तथा गैर आवासीय नेपालीहरु संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गर्नका लागि संचालनमा ल्याइएको एनआरएनएहरुका लागि डलर खाता साथै विदेशमा रहेका नेपालीहरुका लागि देशमा सुरक्षित आर्थिक लगानी एवम् सम्भावना, वैधानिक रेमिटेन्सको महत्वमा लगानी र देशको अर्थतन्त्रमा पर्ने प्रभाव लगायत अन्य विषयहरुमा जानकारीमुलक अनलाइन (जुम भर्चुअल) अन्तरक्रिया कार्यक्रम गर्न लागेको र यो कार्यक्रमबाट समग्र नेपाली अर्थतन्त्रको बृद्धि विकासमा टेवा पुग्ने भएकोले कार्यक्रममा दक्षिण कोरियामा भएका सम्पूर्ण नेपाली संघ सस्थाहरुलाई सहकार्यका लागि एनआएएनएका बरिष्ठ उपाध्यक्ष सन्जिव राइले अपिल गरेका छन् ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भुमिका महत्वपूर्ण रहेको तथ्यलाई जोड्दै एनआरएनएका महासचिव रोशन भट्टराइले उक्त कार्यक्रमबाट दक्षिण कोरियामा रहेका बहुसंख्यक नेपालीहरुले नेपाल पैसा पठाउन वैधानिक माध्यम प्रयोग गर्ने र यसले नेपाली अर्थतन्त्रको खस्केको अवस्थालाई सुधार गर्नका निम्ति अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफुले बुझेको साथै हुन्डीलगायत अन्य अवैधानिक माध्यमबाट नेपाल पैसा पठाउँदा राष्ट्रको अर्थतन्त्रमा गम्भीर असर पर्ने भएकोले एनआरएनए दक्षिण कोरियाको महत्वपूर्ण अभियानमध्ये वैधानिक रेमिट्यान्स नेपाल भित्राउने पनि भएकोले यो कार्यक्रममा गर्न लागिएको बताए ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको साथै दक्षिण कोरियामा भएका मिडिया एवम् सञ्चारकर्मी, विभिन्न संघसंस्थाहरू र सरोकारवालाहरूले पनि सहकार्यको लागि अनुरोध गरेकोले आफुहरू ज्यादै हर्षित भएको बताउँदै एनआरएनएका प्रवक्ता सन्तोष खड्काले यस कार्यक्रममा जुमको भर्चुअल माध्यमबाट जोडिन सकिने साथै एनआरएनए लगायत सम्पूर्ण मिडिया पाट्नरहरूको फेसबुक पेज बाट प्रत्यक्ष लाइभ गरिने भएकोले यो कार्यक्रमबाट दक्षिण कोरियामा रहेका नेपालीहरूमात्र नभई बिश्वभर रहेका नेपालीहरु लाभान्वित हुन सक्ने बताए ।