भारी हिमपातका कारण त्रिभुवन राजपथ शनिवार पनि अवरुद्ध
मकवानपुर । भारी हिमपातका कारण त्रिभुवन राजपथ शनिवार पनि अवरुद्ध भएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ् तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म अग्लो हिउँ परेपछि सवारी संचालनमा समस्या भएको हो । सो क्षेत्र अन्तरगत पर्ने सडक खण्डमा शुक्रबार थाहा नगरपालिकाले २ वटा जेसीबी प्रयोग गरी हिउँ हटाउने प्रयास गरेको भएपनि मौसम सुधार नभएका कारण राजमार्ग संचालनमा ल्याउन नसकिएको हो ।
यो समाचार तयार पार्दासम्म हिमपात रोकिएको छ । तर, हल्का बर्षा भने भइनैरहेको छ । मौसममा सुधार भएमा मात्रै आज राजमार्ग सुचारु हुने, इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । शुक्रबार विहान सवा २ बजेदेखि वर्षासँगै बाक्लो हिउँ परेपछि शुक्रबार दिनभर यातायात अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारी साधन संचालनमा आउन सकेका छैनन् ।
