मनहरीमा सेनेटरी प्याड तथा सिलाई कटाई तालिम सुरु

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार ०९:३०

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ हाँडीखोलामा सेनेटरी प्याड तथा सिलाई कटाई तालिम सुरु भएको छ । रोटरी क्लब अफ हेटौंडाको आयोजनामा भएको उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो ।

महिला स्वास्थ्यका लागि अत्यावश्यक सेनेटरी प्याड आफैं तयार पारेर प्रयोग गर्न सकिने तथा सिलाई कटाईको कार्य गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको क्लबले जनाएको छ । रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता तथा रोटरी क्लब अफका पूर्व एसिस्टेन्ट गभर्नर धिरज कार्कीको प्रमुख आतिथ्यमा तालिम सुरु भएको हो ।

दैनिक रुपमा ३ घण्टा हुने तालिममा २७ जना महिलाको सहभागिता रहेको छ । सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिम यसअघि हेटौंडा–४ र हेटौंडा–१५ गौरिटारमा गत सातादेखि सुरु भइसकेको छ भने आगामी साता हेटौंडा–१४, उत्तरपानीमा आयोजना हुनेछ ।