प्युठान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो
काठमाडौँ । प्युठानमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरटारमा बेहुली लिएर फर्किँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप विहान ३ बजे दुर्घटना भएको थियो । मृतक र घाइतेहरुको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बेहुलासहित ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीको भनाई छ ।
जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा दुर्घटना भएको हो । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको बताइएको छ । बाँकी ५ जनाको अवस्था पनि चिन्ताजनक रहेको जनाइएको छ । जिप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।
