मकवानपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १८:०४
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ निवासी ७२ वर्षीय बृद्ध रहेका छन् । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यससंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या मकवानपुरमा १ सय ७१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४५ जना संक्रमित थपिएका छन् । ३१ जनामा पिसिआर र ३६५ जनामा एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा क्रमशः २३ जना र २२ जनामा गरी कूल ४५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी हेटौंडा भित्रका रहेका छन् । हेटौंडा भित्रका ३४ जनामा कोरोना देखिएको हो । यसैगरि ६ जना थाहा नगरपालिकाका, ३ जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् भने मनहरी र भीमफेदी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । आज जिल्लामा १ सय ६६ संक्रमितले कोरोनालाई जितेका छन् । जिल्लामा हाल ४ सय ५५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।