मकवानपुरमा थप १६६ जना कोरोना संक्रमणमुक्त, एकको मृत्यु
मकवानपुर । मकवानपुरमा आज (मंगलबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमित भन्दा संक्रमण निको हुनेको संखया बढी छ । जिल्लामा आज एकैदिन १६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशनमा बसेका १६५ जना र संस्थागत आइसोलेशनमा बसेका एक जना गरी १६६ जना आज संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १३९ जना संक्रमणमुक्त भएका हुन् ।
यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका १२, मकवानपुरगढी गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका ११ जना र बकैया गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १७ हजार २१९ जना पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३९६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७१ जना पुगेको छ ।
