तनहुँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । तनहुँको दमौली–डुम्रे सडकखण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–५ का अनिल बाचेमगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनीहरु सवार ग १८ प ९२९५ नम्बरको मोटरसाइकल र लु १ ख ९८३२ नम्बरको ट्रक गएराति तनहुँको बन्दिपुर गाउँपालिकाको बेल भञ्ज्याङ भन्ने स्थानमा ठोक्किएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृतक दुबै जना मोटरसाइकल सवार हुन् ।
टिपरको ठक्करबाट दुई जनाको मृत्यु
बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् । हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
