सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । सहिद दिवस २०७८ को अवसरमा आज बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनेरास्ववियू हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजना तथा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
अनेरास्ववियू हेटौंडाका अध्यक्ष नवराज पौडेलको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । जसमा २ जना महिला र ३१ जना पुरुष रहेको रक्तसंचार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए ।
पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडामा रगतको अभाव भएको र आज संकलन भएको रगतले एक हप्ताको लागि रगतको माग पुरा गर्न सकिने उनले बताए । कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौला, प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटी सदस्य अनन्तप्रसाद पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, सचिव नवीन सिग्देल, अनेरास्ववियूका स्थायी कमिटी सदस्य सन्तोष पौडेललगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
