मकवानपुरका १८१ जना कोरोना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आज एकैदिन १८१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशनमा बसेका १८१ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १३६ जना संक्रमणमुक्त भएका हुन् । यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका ७, मकवानपुरगढी गाउँपालिकाका ८ जना, कैलाश गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका २२ जना, भीमफेदी गाउँपालिकाका एक जना र बकैया गाउँपालिकाका ६ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १६ हजार ६६१ जना पुगेको छ ।
जिल्लामा शनिबार स्वाब संकलन र कोरोना परीक्षण नभएको कारण रिपोर्ट नआएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ८२६ जना रहेका छन् । जसमा हेटौंडाका ५६९, थाहानगरपालिकाका ७९, मकवानपुरगढीका ५१, बागमतीका १, मनहरीका ८५, इन्द्रसरोवरका ७, भीमफेदीका १४, बकैयाका १८ र राक्सिराङका २ जना रहेका छन् ।
