जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै

तु खबर संवाददाता
२०७८ माघ १२, बुधबार १०:२०

काठमाडौं । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज (बुधबार) सार्वजनिक हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेर सार्वजनिक गर्न लागेको हो ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।