नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात

तु खबर संवाददाता
२०७९ असार २५,शनिबार १७:२५
file-photo

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू आवको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार, यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात भएको छ ।

नेपालबाट निर्यात हुने अलैँची दक्षिण एसियाकै २ वटा देशमा निर्यात हुने गरेको छ । नेपालबाट यस अवधिमा भारत र पाकिस्तानमा अलैँची निर्यात भएको विभागको तथ्याङ्क छ । यस्तै, नेपालबाट भारतर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । यस अवधिमा भारततर्फ ४९ लाख ८० हजार किलोग्राम अलैँची निर्यात भएको छ । यस्तै, पाकिस्तानतर्फ ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैँची निर्यात भएको छ ।