मकवानपुरका ९१ जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा थप ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (आइतबार) एकैदिन ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा १७० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा ३८ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा र १३२ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज २६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, थाहानगरपालिकाका १९ जना, मकवानपुरगढी गाउँपालिकाका १५ जना, मनहरी गाउँपालिकाका २२ जना, भीमफेदी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका ७ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १७ हजार ६३ जना पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र मनहरी गाउँपालिकाका ७ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ४ सय १५ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १७० जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय २२ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
