मकवानपुरका १९६ जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा थप १९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (शुक्रबार) एकैदिन १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा २९५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा १७९ जनाको पीसीआर परीक्षण गर्दा १२३ जनामा र ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १४१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, थाहानगरपालिकाका १६ जना, मकवानपुरगढी गाउँपालिकाका १० जना, बागमती र राक्सिराङ गाउँपालिकाका एक/एक जना, मनहरी गाउँपालिकाका १५ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी र बकैया गाउँपालिकाका ५÷५ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १६ हजार ८ सय ९७ जना पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ७४ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १७० जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय २२ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
