सर्जिकल मास्कको ५ रुपैयाँभन्दा बढि लिन नपाइने, १० रुपैयाँमा मास्क बिक्री गर्नेमाथि प्रशासनले धमाधम कारवाही गर्दै
मकवानपुर । एक रुपैयाँ हाराहारी मूल्य पर्ने स्वास्थ्य सुरक्षा सामग्री मास्कको १० रुपैयाँ असुल गर्दै उपभाक्ता ठगिएपछि मकवानपुरको स्थानीय प्रशासन तातेको छ । हिजो मंगलबार १० रुपैयाँ लिई मास्क बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर मास्कको मूल्य घटाउने अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले थप अनुगमन गरी मास्कको कालोबजारीविरुद्ध अभियान चलाउने जनाएको छ ।
कोरोना महामारीको समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री मास्कको कालोबजारी हुन नदिन प्रशासन कार्यालयले अभियान तीव्र पारेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तु खबरलाई बताए । होलसेलमा एक रुपैयाँ हाराकारी पर्ने मास्कको १० रुपैयाँ लिन नपाइने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।
प्रशासनको आदेशपछि बढि मूल्य लिने व्यापारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । हिजो दुई जना पक्राउ परेकोमा आज थप एक जना महिलालाई प्रक्राउ गरी कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । औषधी पसल, किसाना पसल लगायतका व्यापारीहरुले मास्कको १० रुपैयाँ असुल गरिरहेको गुनासो प्रशासन कार्यालयमा पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सबै पसलधनीहरुलाई सामान्य मास्कको अधिकतम् पाँच रुपैयाँमा बिक्री गर्न आह्वान गरेको छ । प्रशासन कार्यालयले अत्यावश्यक मास्कको कालोबजारी नगर्न आह्वान गर्दै त्यसो गरिएको पाइएमा कडा कारवाही गर्नेे भन्दै सबैलाई सचेत गराएको छ ।
तीन लेयरसम्मको सर्जिकल मास्कको होलसेल मूल्य एक रुपैयाँ हाराहारी छ । बाणिज्य ऐनमा अधिकतम् २० प्रतिशतमात्रै मुनाफा लिन पाइने भएपनि हेटौडा बजारसहित मकवानपुरका अधिकांश शहरहरुमा १० रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मास्कको बढि मूल्य लिएर ठगी गरेको फेला परेमा उजुरी गर्न आग्रह गरेको छ ।
