२ नम्वर प्रदेशको नामाकरण र राजधानीका लागि आज मतदान हुँदै

तु खबर संवाददाता
२०७८ माघ ३,सोमबार ०८:५९
file-photo

काठमाडौँ । प्रदेश नम्वर २ को स्थायी राजधानी तोक्ने र नामाकरण तय गर्ने विषयमा आज मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन आज मतदान हुन लागेको हो ।

राजनीतिक दल र सांसदहरुको आ–आफ्नै अडानका कारण समितिले नाम र राजधानी सम्बन्धी केही प्रस्ताव परिमार्जन गरेर घटाएको भएपनि सहमती भने जुट्न सकेको छैन । आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिको तर्फबाट प्रतिवेदन सार्वजनिक गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक परमेश्वर साहले गोप्य मतदानमा जानुपर्ने सहितका ६ वटा निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

प्रतिवेदनमा पुस १५ देखि २७ गतेसम्म चलेको समितिको ८ वटा बैठकमा छलफलको माध्यमबाट ६ वटा नामको प्रस्तावलाई चार वटा र ६ वटा राजधानीको प्रस्तावलाई तीन वटामा सिमित गर्न सकेको उल्लेख छ। सोमबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन पहिले मतदान हुने बताइएको छ।