इन्जिनियर्स एसोसिएशनको निर्वाचन अनिश्चितकालको लागि स्थगित
काठमाडौं । इन्जिनियर्स एसोसिएशनको निर्वाचन स्थगित भएको छ । कोभिड–१९ को संक्रमण बढेपछि यही माघ ७ गते हुने भनिएको निर्वाचन कार्यक्रम अनिश्चितकालको लागि स्थगित भएको इन्जिनियर्स एसोसिएशनका निर्वाचन समिति संयोजक घनश्याम भट्टराईले जानकारी दिए ।
एशोसिएशनको ३३ औँ कार्यकारिणी समिति, सातै प्रदेशको दोस्रो कार्यकारिणी समितिका लागि निर्वाचन गर्ने तयारी थियो । एशोसिएशनको अध्यक्षका लागि लोकतान्त्रिक समूह र प्रगतिशील समूह प्यानल बनाएका थिए । कांग्रेस निकट लोकतान्त्रिक समूहबाट दुई वटा प्यानल थिए । लोकतान्त्रिक समूहबाट हरिबहादुर दर्लामी र दिलिपकुमार झा अध्यक्षमा दाबेदार थिए । प्रगतिशील समूहबाट हरिराम पराजुलीको नेतृत्वमा प्यानल बनाएको थियो । गत वैशाखमा पनि कोरोनाका कारण एसोसिएशन स्थगित गरिएको थियो ।
