कोभिडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन छलफल

तु खबर संवाददाता
२०७८ माघ १, शनिबार ०८:५८

मकवानपुर । बागमती प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप अभियान प्रभावकारी बनाउन चेपाङको बाहुल्य क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ । शुक्रबार प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहसँग छलफल गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा मन्त्री लामाले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सहकार्यका लागि आग्रह गरेका थिए । उनले कोरोनाको जोखिम रोगथाम तथा न्यूनीकरणका लागि खोप अत्यावश्यक रहेकोले खोप बारेको भ्रम हटाउन त्यस क्षेत्रका नागरिक समाज, जनप्रतिनिधि, सामाजिक अगुवा लगायतले अभियानको महत्वबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकार खोप लिएर समुदाय तहमै पुग्न तयार रहेकोले चेपाङ बाहुल्य क्षेत्रमा सबैको सहयोगमा लक्ष्यमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

यस्तै, छलफलकै क्रममा प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ बाहुल्य क्षेत्रमा गाउँपालिकास्तरमा स्वास्थ्य शिविर गर्ने, चर्चमा खोप अभियान चलाउने, खोपको सकारात्मक पक्षबारे प्रचारप्रसारमा जोड दिने, विपन्न चेपाङफ तामाङ र दलित बर्गलाई लक्षित गरेर सहयोग अभियानसहित खोप अभियान चलाउने जस्ता काम गरेर खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

यसैगरी, संविधानसभा सदस्य गोबिन्दराम चेपाङले त्यस क्षेत्रमा चेतनाको अभाव र खोपबारे नकारात्मक प्रचार रहेकाले यसलाई चिर्दै खोप लगाउने दरले बढाउन आफुहरूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । चेपाङ संघका केन्द्रीय सदस्य खेम चेपाङले खोप लगाउने दरलाई चेपाङ समुदायमा बढाउन आफुले संघका सबै जिल्लाका इकाईमार्फत सहजीकरण गर्ने बताए । उनले विद्यालय, चर्च, स्वास्थ्य इकाई, वडा कार्यालय जस्ता स्थानमा अभियान चलाउनुपर्नेमा जोड दिए । छलफलमा चेपाङ, तामाङ र ख्रिष्टियन समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।