हेटौंडासहित ५ पालिकाका नागरिकलाई निःशुल्क रगत

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार १७:०४

मकवानपुर । मकवानपुर जिल्लाको ५ वटा पालिकाले आफ्नो नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । स्वास्थ्य उपचारका क्रममा आवश्यक रगत पालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । रगत उपलब्ध गराउन पालिकाहरुले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरसँग सम्झौता गरेको हो ।

रेडक्रस मकवानपुर र पालिकाबीच भएको सम्झौताअनुसार रक्तसञ्चार केन्द्र हेटौंडाबाट आवश्यक रगत निःशुल्क प्राप्त गर्न सकिनेछ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र बागमती गाउँपालिकाले रेडक्रसको सम्झौताअनुसार प्रतियुनिट ८ सय ५० रुपैयाँ भुक्तानी गरी रगत उपलब्ध गराउने भएको हो ।

निःशुल्क रगत कार्यक्रमलाई अन्य पालिकामा पनि विस्तार गर्ने योजना रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका मन्त्री पिताम्बर बास्तोलाले जानकारी दिए । मकवानपुरमा सबैभन्दा पहिले बकैया गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउन सुरु गरेको थियो ।