मकवानपुरमा थपिए २५ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार १५:४३

मकवानपुर । मकवानपुरमा थप २५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (शुक्रबार) एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ७५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा ११ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा र ६४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी थाहानगरपालिकाका ४ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ४ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ८ सय ८० जना पुगेको छ ।

यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा २ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने २ जना नै हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ३८ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १६८ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय २० जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।