ऋषि केबीको अभिमन्यु नयाँ भूमिकामा कविता संग्रह विमोचन
मकवानपुर । जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश डिल्लिरत्न श्रेष्ठले साहित्यकार ऋषि के.बीद्वारा लिखित अभिमन्यु नयाँ भूमिकामा नामक कविता संग्रह विमोचन गरेका छन् । बुधबार हेटौंडामा मु्ख्य न्यायाधीश श्रेष्ठले अधिवक्तासमेत रहेका के.बीको कविता संग्रह विमोचन गरेका हुन् । मुख्य न्यायाधीश श्रेष्ठले के.बीको लेखनयात्राको निरन्तरताको कामना गर्दै भने ‘ऋषि जी पत्रकारिता, चित्रकला, साहित्य, गीतसंगीत हुँदै कानून व्यवसायीको रुपमासमेत स्थापित भइसक्नुभएको छ ।उहाँको बहुमुखी प्रतिभा साँच्चै प्रशंसनीय छ, लेखनको बाटो भएर सत्यको यात्रामा अझै अघि बढ्नुहोस् शुभकामना ।’
उनले साहित्य र कानूनको समेत ज्ञान भएका के.बीले ऐन, कानून, न्याय सम्पादनका विषय, जनस्तरसम्मका समस्या र त्यसको समाधानलगायतका विषयमा पनि कलम चलाउनुपर्ने बताए । समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचारको विरोध गर्दै देश र जनताप्रति अझै जवाफदेशी भएर लेखनको यात्रामा अघि बढ्न उनले सुझाव दिए ।
कार्यक्रममा समिक्षक पुरुषोत्तम आचार्यले कविता संग्रहमा के.बीको बहुमुखी प्रतिभाको प्रभाव झल्किएको बताए । पुस्तकका कतिपय कवितामा उनको अमूर्त चित्रकारिताको प्रतिछाँया भेटिने उनले बताए । कवितामा वर्तमान समाजमा भएका विकृति, विसंगतीविरुद्ध विद्रोहभाव झल्किनुको साथै राष्ट्रियता, दाम्पत्य प्रेम, भावुक प्रेमलगायतका विषयपनि समेटिएकोले उक्त संग्रह आम पाठकको रुचीको पुस्तक बन्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायधीसहरु क्रमश कमलराज बिष्ट, सीता शर्मा अधिकारी, मनकुमारी जि.एम.वि.क.को आतिथ्यता रहेको थियो । विमोचित कृति के.बी.को नवौ साहित्यिक पुस्तकार कृति हो । के.बी मकवानपुर प्रतिभा (२०५९) , प्रे.ब. कार्कीं पुरस्कार, (उत्कृष्ट वर्ष युवा सन् –२००३), दशौं राष्ट्रिय चित्रकला प्रतियोगिता–२०५० (द्वितीय), द राइजिङ हेटौंडा अवार्डबाट पुरस्कृत भइसकेका छन् ।
विमोचन कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दना, झरना साहित्यिक परिवारको अध्यक्ष दीपक गौतम, नेपाली लेखक सङ्घका अध्यक्ष छवि अनित्य, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी लगायतको उपस्थिति रहेको थियो । प्रकाशक पुण्यशिला केवीको सभाध्यक्षतामा भएको कार्यक्रम साहित्यकार सी.एम रिमालले सहजिकरण गरेका हुन् ।
