हेटौंडामा शिक्षक भलिबल सुरु, महेन्द्र मावि बकैया विजयी

तु खबर संवाददाता
२०७८ पुष २८,बुधबार १६:२४

मकवानपुर । हेटौंडामा जिल्लास्तरीय शिक्षक नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको आयोजनामा आज (बुधबार) बाट सुरु भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रचौरस्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्र मावि बकैया विजयी भएको छ । महेन्द्र माविले भानु मावि मकवानपुरगढीलाई २५–१७ र २५–१५ को सोझो सेटमा पराजित गर्दै बकैयाल प्रतियोगितामा विजयी सुरुवात गरेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न १९ वटा विद्यालयको सहभागिता रहेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यमा भएको उद्घटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको पनि आतिथ्य रहेको थियो । ३ दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ तथा उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने अन्य २ टिमले ५÷५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाइएको छ ।