बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : कोभिड–१९ व्यवस्थापन समिति गठन
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय कोभिड–१९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ ।
अघिल्लो वर्ष कोभिड महामारी चर्किएको बेला ४७९ जना प्राविधिक कर्मचारी राखिएकोमा उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र थियो । ती कर्मचारीलाई अर्को ६ महिनाका लागि करार अवधि थप गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिए । यसैगरी, बैठकले प्रदेश अन्तर्गत भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सो कार्यालय स्थापन गर्न आवश्यक जग्गा प्राप्तिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको मन्त्री खनालले बताए ।
साथै बैठकले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत कर लिँदै आएकोमा पचास प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे हुने व्यवस्था गरिने निर्णय गरेको छ । त्यस्तो कर बुझाउने अवधि पनि एक महिना थप गरी माघ मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिएको उनको भनाई छ ।
