कर्णाली प्रदेशसभा बैठक बुधबार बस्ने

तु खबर संवाददाता
२०७८ पुष २७, मंगलवार ०९:५८
file-photo

सुर्खेत । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन बोलाइएको छ । बैठक पुस २८ गते बुधबार दिनको ३ बजेतिर बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । संविधानको धारा १८३ बमोजिम बैठक बोलाइएको हो ।

प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम ३ बमोजिम सांसदहरुलाई सोही मितिमा उपस्थितिका लागि अनुरोध गरिएको सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए । पुस २१ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

यसअघि मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो । तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थिति नभएपछि मंसिर १५ गते बैठक सारियो । महाधिवेशनको संघारमा रहेको एमाले १५ गते पनि सहभागी नभएपछि सत्ता गठबन्धनकै सहभागितामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । उनले विश्वासको मत लिएसँगै सोही दिन बुधबार रातको १२ बजेदेखि प्रदेशसभा बैठक अन्त्य गरिएको थियो ।