मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दो, एकैदिन १७ जना थपिए
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । जिल्लामा आइतबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ६ सय २४ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ३० जना पुगेका छन् ।
यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १६७ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १९ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
