बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

एजेन्सी
२०७८ पुष २५,आईतवार ०८:३१

काठमाडौं । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या एक लाख ५० हजार ५७ पुगेको हो ।

बेलायतमा कोरोना सङ्क्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरोनाका मृतकको रूपमा घोषणा गरिन्छ । विश्वभरमा कोरोनाका कारण मृत्यु हुने सङ्ख्या एक लाख ५० हजार नाघ्ने मुलुकमा अमेरिका, ब्राजिल,भारत, रसिया, मेक्सिको र पेरुपछि बेलायत सातौँ स्थानमा पर्दछ । यसैगरी बेलायतमा पछिल्लो २४ घण्टामा थप एक लाख ४६ हजार ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक करोड ४३ लाख ३३ हजार ७९४ पुगेको छ ।

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण बढेपछि बेलायतमा हाल सङ्क्रमण दर तीव्र रूपमा फैलिएको छ । अघिल्लो हप्ता दैनिक सङ्क्रमण दुई लाख बीस हजार नाघे पनि पछिल्ला दिनमा सङ्क्रमण दर केही ओरालो लागेको छ । सङ्क्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ ।