हेटौंडामा आजबाट कोटीहोम महायज्ञ सुरु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरक्षश्वर मन्दिर परिसरमा आज (मंगलबार) बाट कोटीहोम महायज्ञ सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । धर्मसभा विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रिय, श्रीराम भक्त हनुमान सेवा समिति, हेटौंडा–१० र श्री गोरक्षेश्वर क्षेत्र विकास समिति हेटौंडा–१० को संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।
यही पुस २७ गतेसम्म संचालन हुने महायज्ञको आज पहिलो दिन कलश यात्रा हुने आयोजक समितिका मूल समारोह समिति संयोजक महेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार, महायज्ञ अन्तर्गत हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म हवन र १२ बजेदेखि ४ बजेसम्म वाचन, ४ बजेदेखि ५ बजेसम्म पितृमोक्ष गंगा आरती र ५ बजेदेखि ६ बजेसम्म भजन किर्तन हुनेछ ।
सप्ताहव्यापी कार्यक्रममा श्रीनिवासाचार्य, गुरु लहाक्पा लामा, केशव आचार्य दास, उमामहेश्वरी, विष्णु देव, ज्ञानी गुरु बखश सिंह, सुशिला दिदी, नेपाल केशरी मणिभद्र महाराज, धर्माचार्य कृष्णप्रसाद गुरागाई, सन्त माधव महाराजलगायतले कथा प्रवचन गर्ने आयोजकले जनाएको छ ।
