हेटौंडाका १७० जना विद्यार्थीलाई न्यानो कपडा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ नकौलीका १ सय ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । सन अफ लाईफका सदस्य एवम् स्वास्थकर्मी राजु गुरुङ्गले शतप्रतिशत तामाङ्ग समुदायको बालबालिका अध्ययन गर्ने नकौलीको कालिका आधारभूत विद्यालयका १ सय ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
गुरुङले हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेको समन्वयमा ती विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेका हुन् । कार्यक्रममा वडाध्यक्ष न्यौपानेले यहाँ अधिकाश तामाङ समुदायको बसोबास रहेको बताउँदै जाडोको समयमा न्यानो कपडाको अभावमा विद्यार्थीहरु समयमा विद्यालय नआउने समस्यालाई अबका दिनमा समाधान हुने बताए ।
न्यानो कपडा वितरण गर्दै सहयोगी गुरुङ्गले संस्थाले जिल्लाका विभिन्न विद्यालयमा सहयोग पुर्याउदै आएको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुकदेव काफ्लेले विद्यालयमा शतप्रतिशत तामाङ विद्यार्थी अध्ययन गर्ने गरेको बताए । आर्थिक अवस्था नाजुक रहेका विद्यार्थीहरु जाडोकै कारण बिधालय अनुपस्थित भैरहेका अवस्थामा सहयोगीदाताबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोगले राहत महसुस भएको भन्दै सहयोगीदातालाई धन्यवाद व्यक्त गरे ।
