पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् । प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’ माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको र आवश्यक पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन तयार रहेको भन्दै उनले भने, ‘जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौं ।’
कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्ने गरेको भन्दै उनले भने, ‘२०४५ सालमा सानो समूहबाट शुरु गरेर २०५२ सालमा जनयुद्ध शुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ?’
